युरोकपः आज तीन रोमाञ्चक खेलहरू हुँदै



काठमाडौं । युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह ‘डि’ अन्तर्गत शुक्रबार तीन रोमाञ्चक खेलहरु हुँदैछ । ईङल्याण्डले स्कटल्याण्डको सामना गर्दै छ भने चेक रिपब्लिक र क्रोएसिया भिड्दै छन् । त्यसैगरि समूह ‘ई’मा स्लोभाकिया र स्विडेन खेल्नेछन् ।
स्लोभाकिया र स्विडेनको खेल नेपाली समय अनुसार १८ः४५ बजे हुनेछ भने क्रोएसिया र चेक रिपब्लिकको खेल २१ः४५ बजे हुनेछ । त्यसैगरि शनिवार ००ः४५ बजे इङल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् ।
ईङल्यण्डले स्कटल्याण्डलाई पराजित गरेमा दोस्रो चरणमा पुग्नेछ भने स्कटल्याण्डलाई दोस्रो चरणको यात्रा कठिन हुनेछ । ईङल्याण्डले पहिलो खेलमा क्रोएसियालाई १–० गोलले पराजित गरेर तीन अङ्क प्राप्त गरेको छ । उता चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० गोलले पराजित गर्दै तीन अङ्कका साथ समूहको पहिलो स्थानमा रहेको छ ।
ईङल्याण्ड र चेक दुवै विजयी भएमा दुवै टोली दोस्रो चरण प्रवेश गर्ने छन् । दोस्रो चरणमा प्रवेशका लागि समूहमा तेस्रो भए पनि चारवटा टोली दोस्रो चरणमा प्रवेश गर्न पाउने छन् । राम्रो प्रदर्शन गरेका ४ टोली दोस्रो चरण प्रवेश गर्ने छन् ।

ईङल्याण्ड र स्कटल्याण्ड २५ वर्ष पछि ठूलो प्रतियोगितामा भिड्दै छन् । यसअघि १९९६को युरोको समूह चरणमा दुई टोलीको भेट भएको थियो । उक्त खेलमा ईङल्याण्ड २–० गोलले विजयी भएको थियो । उक्त खेलमा ईङल्यण्डका अहिलेका व्यवस्थापक गारेथ साउथगेट खेलाडीका रूपमा खेलेका थिए । क्रोएसिया र चेकबीच अहिलेसम्म भएका पछिल्ला तीन खेलहरूमा एक खेलमा क्रोएसिया विजयी भएको छ भने दुई खेल बराबरीमा टुङ्गिएको छ । क्रोएसिया ठूला प्रतियोगिताको समूह चरणका खेलहरूमा आफ्नो दोस्रो खेलमा पराजित भएको छैन ।
पछिल्लो समय क्रोएसियाको प्रदर्शन उल्लेखनीय छैन । पछिल्लो १४ खेलमा क्रोएसिया ८ खेलमा पराजित भएको छ भने चार खेलमा विजयी र दुई खेल बराबरीमा टुङ्गिएका छन् । उता चेक आफ्नो पछिल्लो १९ खेलमा एक खेलमा मात्र पराजित भएको छ । नौ खेलमा विजयी रहँदा नौ खेल बराबरीमा टुङ्गिएका छन् ।
समूह ‘ई’मा स्लोभाकिया र स्विडेन खेल्नेछन् । पहिलो खेल जितेर तीन अङ्कका साथ स्लोभाकिया पहिलो स्थानमा रहेको छ भने स्विडेन र स्पेन एक–एक अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । स्विडेन र स्पेनले पहिलो खेल गोल रहित बारबार गरेका थिए । स्लोभाकियाले स्विडेनलाई पराजित गरेमा दोस्रो चरणमा प्रवेश निश्चित गर्नेछ ।
यी दुई टोली पछिल्लो समय अक्टोबर २०१८मा खेलेकोमा नतिजा १–१को बराबरी रहेको थियो । अहिलेसम्म आफूबीच पाँच खेल खेलेका दुई टोलीमा स्विडेन अपराजित रहेको छ । दुई खेलमा विजयी रहेको स्विडेनले तीन खेल बराबरीमा टुङ्गाएको थियो । आ–आफ्ना पछिल्ला ६ खेलमा दुवै टोली अपराजित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्