कञ्चनपुरमा पहिलोपटक गाईमा देखियो लम्पी स्किन रोग



कञ्चनपुर : पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो ।

पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । ‘यस्तोे संक्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौं ।

रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौं,’ उनले भने । किसानका २ दर्जनभन्दा बढी पशु १ हप्ता अघिदेखि सो रोगबाट सताइएकामा   बाच्छाबाच्छीमा समेत संक्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार संक्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् ।

रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ । भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको  स्थानीय किसान वीरसिंह महराले बताए ।

‘रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ,’ पशु शाखा अधिकृत भट्टले भने, ‘संक्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म संक्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरेका छौं ।’
 रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्