‘सय वर्ष टिक्ने गरी मापदण्ड बनाउनू’



पोखरा : पर्यटकीय नगरी पोखरालाई व्यवस्थित र सुन्दर बनाउनुका साथै सय वर्ष थेग्न सक्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरुले सुझाएका छन् ।

 

पोखरा महानगरपालिकाद्वारा गठित विज्ञ समूहले तयार पारेको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित कार्यक्रममा सांसदहरुले पोखराको सौन्दर्य नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन् । 

 

 

दीर्घकालीन सोच राखेर महानगरले काम गर्नुपर्नेमा सुझाव दिँदै छलफल कार्यक्रममा जनप्रतिनिधिले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका छन् । 

 

 

कार्यक्रममा राष्ट्रियसभा सदस्य वृन्दा रानामगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताए । सार्वजनिक जग्गाको संरक्षण गर्दै हचुवाको भरमा नभई दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्मणको मापदण्ड तयार पार्नुपर्नेमा उनकाे जोड थियो । 

 

गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा एक इन्च पनि सम्झौता नगरी पोखराको भविष्यलाई हेरेर बनाउनुपर्ने बताए । 

 

 

प्रदेशसभा सदस्यद्वय प्रभा कोइराला र मित्रकुमारी सुवेदीले सडकको मापदण्ड बनाउँदा कन्जुस्याइँ नगर्न र प्रत्येक घर निर्माण गर्दा भूमिगत रुपमा पार्किङको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

 

प्राकृतिक स्रोत साधनको जथाभावी दोहन रोक्ने खालको मापदण्ड तयार गरेर पोखराको सौन्दर्य जोगाउनुपर्नेमा प्रदेशसभा सदस्य राजीव पहारीको जोड थियो । 

 

 

कार्यक्रममा प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, रामजी बरालले वैज्ञानिक मापदण्ड तयार गरी निर्मम रुपमा कार्यान्वय गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डबारे सरोकारवाला निकायसँग रायसुझाव लिएरै त्यसलाई कार्यान्वयन तहमा लैजाने प्रतिबद्धता व्यक्त गरे । 

 

 

महानगरपालिकाले प्राडा भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो ।

 

पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर, विगतका मापदण्डसम्बन्धी प्रतिवेदनलाई समेत अध्ययन गरी वैज्ञानिक ढङ्गबाटै मापदण्ड तयार पारिएको समितिका सदस्य–सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले जानकारी दिए । 

रासस

प्रतिक्रिया दिनुहोस्