पीएम कप टी–ट्वान्टी क्रिकेट : आर्मीकाे विजयी सुरुआत



काठमाडौँ : आजबाट सुरु भएको प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब विजयी भएको छ। प्रतियोगिताको पहलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै समूह ‘ए’ अन्तर्गत विजयी सुरुआत गरेको हो ।

टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णालीले १४ दशमलब ४ ओभरमा अलआउट हुदै मात्र ५३ रन जोड्न सक्यो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे । सुशान भारी र शहाब आलमले दुई/दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक–एक विकेट हात पारे । यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन बनाएकाे थियाे।

आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए । सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १/१ विकेट लिए । प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्