प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि पुलिसको जित



काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित हात पारेको हो ।

टस हारेर ब्याटिङ गरेको पुलिसले आठ विकेटको क्षतिमा ९३ रन बनाएपछि सुदूरपश्चिमले ९४ रनको लक्ष्य पाएको थियो। जवाफमा उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। डेथ ओभर र १९औं ओभरमा सुदूरपश्चिमले सम्हालिन नसक्दा उसले हार बेहोरेको हो। अन्तिम दुई ओभरमा ९ रन चाहिएको अवस्थामा उसले ६ रन मात्र जोड्न सक्यो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७ रन बनाए भने खडक बोहराले १३ रन जोडे। त्यस्तै, नारायण जोशीले २२ रन बनाउँदा अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन्। यता बलिङतर्फ पुलिसका आरिफ शेखले चार ओभर बलिङ गर्दै चार विकेट गिराए भने पवन सर्राफ, दीपेन्द्र सिंह ऐरी र करण केसीले समान १–१ विकेट लिए।

यसअघि पुलिसका कुशल भुर्तेलले २१ रन बनाए भने पवन सर्राफले २० रन बनाएका छन्। त्यसबाहेक आरिफ शेखले मात्र जोर अंकमा रन बनाए। यता सुदूरपश्चिमले सानदार बलिङ गर्‍यो। नारायण जोशीले चार ओभर बलिङ गर्दै १८ रन दिएर तीन विकेट लिए। त्यस्तै, तीन ओभर बलिङ गरेका आदित्य महताले ९ रन मात्र दिएर तीन विकेट गिराए। त्यस्तै, शेर मल्लले पनि दुई विकेट गिराएका छन्।

प्रतिक्रिया दिनुहोस्