‘विश्व हिन्दी दिवस’ मनाइयो



काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आज सोमबार ‘विश्व हिन्दी दिवस’ मनाएको छ ।

काठमाडौंको होटल ¥याडिसनमा सो दिवसको कार्यक्रमको आयोजना गरिएको थियो । सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ ।

दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षता गरेका थिए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदस्ले पठाएको सन्देश पढेर सुनाएका थिए ।

भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा. डा. उषा ठाकुर विशिष्ट अतिथिका रुपमा थिए । विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार करुणा झाको कविता संग्रहको विमोचन गरिएको छ । हिन्दी पत्रिका ‘हिमालिनी’ को नयाँ अंक अतिथिहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले सुमधुर समूह गीत प्रस्तुत गरे । आफ्नो मन्तव्यका क्रममा मुख्य अतिथि राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौंदेखि अहम् भूमिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्