डढेलोमा परी मृत्यु भएका वृद्धाको परिवारलाई एक लाख सहयोग



खोटाङ : सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा डढेलोमा परी मृत्यु भएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । तारे भीर सामुदायिक वनमा लागेको डढेलोमा पर्दा गत २५ चैतमा मृत्यु भएकी बराहपोखरी गाउँपालिका-२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलब्ध गराएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले डढेलोमा मृत्यु भएकी डम्बरकुमारीकी छोरा कृष्णबहादुर आले मगरलाई बुधबार भगवती सामुदायिक वनको कार्यालयमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरेका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयको दैवी प्रकोप कोषबाट मृतक डम्बरकुमारीको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराइएको अध्यक्ष राईले बताए ।

मगर परिवार भगवती सामुदायिक वन लगायतका सामुदायिक वनको उपभोक्ता हुन् । डढेलो निभाउने क्रममा वा अन्य कारणबाट डढेलोमा परी ज्यान गुमाएका सामुदायिक वनका उपभोक्तालाई लक्षित गर्दै स्थापना गरिएको कोषबाट मगर परिवारलाई राहत प्रदान गरिएको हो ।

जंगलमा लागेको डढेलोको लप्काले भेट्दा डम्बरकुमारीको घट्नास्थलमै मृत्यु भएको थियो । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा उनको जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्