![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/01/61df6d0d01df2_Untitled-1_haVOQ73hYq.jpg?fit=960%2C450&ssl=1)
काठमाडौँ : काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।
प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए । ५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ।
प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा ११ करोड ९६ लाख रुपियाँ, ललितपुरमा छ करोड तीन लाख रुपियाँ र भक्तपुरमा पाँच करोड ७० लाख रुपियाँ विनियोजन गरेको जानकारी दिइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।