चोभारको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेन



काठमाडाैँ : उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ । वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जनाएको छ। मन्त्रालयले तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिमार्फत बन्दरगाह सञ्चालन गर्ने तयारी अघि बढाएको समेत पाइएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले कर्मचारी दरबन्दी सिर्जना, कार्यविधि निर्माण तथा भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भएको हो । विश्व बैंकको १ अर्ब ६७ करोड लागतको ऋण सहयोगमा आयोजना निर्माण गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्