आजदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइँदै, क-कसले पाउँछन् ?



काठमाडौँ : सरकारले आज (आइतवार) देखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । आजबाट अग्रपंक्रतिमा खटिने व्यक्तिलाई ‘बुस्टर’ मात्राको खोप दिन लागिएको हो ।

अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई आज माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महीना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यसका लागि मन्त्रालयले शुक्रबारै सबै प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई निर्देशन दिइसकेको छ।

पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन भनिएको छ। मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन्। यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने स‌घ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने छ।

प्रतिक्रिया दिनुहोस्