पशुपतिनाथको सम्पत्तिः १८ हजार रोपनी, सवा अर्ब नगद



पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ। पशुपतिनाथको सम्पत्ति विवरण सार्वजनिक भएको यो पहिलो पटक हो । मूल ढुकुटीको विवरण भने बाहिर ल्याइएको छैन। यो खबर आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

पशुपति क्षेत्र विकास कोषबाट दुई वर्षअघि गठित गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चलअचल सम्पत्ति अध्ययन गरेको थियो । अचल सम्पत्ति मूल ढुकुटी र बम्बे ढुकुटीमा छ।

बम्बे ढुकुटीमा २०१९ देखि २०७५ सालसम्मको अभिलेख पाइएको समितिका संयोजक तथा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले जानकारी दिए।पशुपतिनाथको भण्डार तहबिलको तथ्यांकअनुसार बम्बे ढुकुटीमा ९ किलो सुन छ । चाँदी ३ सय १६ किलो २३२ ग्राम छ । त्यो मूल ढुकुटीमा दखिला गरिएको थापाले जानकारी दिए। ‘२०१९ सालभन्दा अगाडिको मुचुल्का प्राप्त हुन सकेन,’ थापाले भने ।

बम्बे ढुकुटी पशुपतिको भान्सामा छ । मूल ढुकुटी मन्दिरको माथिल्लो तलामा छ । सुनचाँदी, हीरा, मोतीलगायत बहुमूल्य गहना मूल ढुकुटीमा दाखिला हुन्छ । बम्बे ढुकुटीमा भाँडावर्तन लगायत सम्पत्ति जम्मा हुन्छन् । यहाँको भाँडावर्तनको छुट्टै मुचुल्का तयार गरिने थापाले जानकारी दिए।

किन खोलिएन मूल ढुकुटी ?

पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न २०६८ सालमा पशुपतिनाथ मन्दिर तथा पूजा व्यवस्था नियमावली जारी भयो । त्यही बेला कोषले मूल ढुकुटी पनि खोल्ने निर्णय गरेको थियो।

त्यो निर्णयविरुद्ध अधिवक्ता भरतमणि जंगम सर्वोच्च अदालत गए । तत्कालीन न्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले ढुकुटी नखोल्न आदेश दियो । ‘अदालतको आदेशपछि म श्रेष्ठलाई भेट्न गएँ,’ नियमावली जारी गर्ने समयका कोषका सदस्य सचिव नरोत्तम वैद्य भन्छन्, ‘मेरो व्यक्तिगत चिनजानसमेत भएकाले किन यस्तो फैसला गरेको भनेर जिज्ञासा राखेँ । उहाँले अहिले खोल्यो भने सबै मास्छन्, जुन बेला विधिको शासन हुन्छ, त्यही बेला खोल्नुपर्छ भन्नुभयो । म उहाँको तर्कमा सहमत भएँ।’

मूल ढुकुटीमा पशुपतिका पुजारी प्रवेश गर्न पाउँदैनन् । पशुपतिका भण्डारको जिम्मा लिएका भण्डारीसमेत छिर्न पाउँदैनन् । यहाँ छिर्ने अधिकार पशुपति भण्डार तहबिलका नाइके बिसेटलाई मात्र छ । बिसेट पनि धोती लगाएर मात्र छिर्न पाउँछन्।

छानबिन समितिले २०१९ यताको मात्र अभिलेख भएको जनाए पनि कोषका पूर्वकोषाध्यक्ष वैद्य भने २००२ सालसम्मको सम्पत्तिको अभिलेख पत्ता लगाएको बताउँछन् । उनका अनुसार मूल ढुकुटीमा अथाह सम्पत्ति छ।

‘संसारमै नपाइने दुर्लभ हीरासमेत छ यहाँ,’ उनले भने, ‘हीराको अध्ययन गर्न बेलायतबाट विज्ञ टोलीसमेत आएको थियो । टोलीले संसारको तीन दुर्लभ हीरामध्ये एक यहाँ रहेको जनाएको थियो।’ वैद्यका अनुसार पशुपतिको मूल ढुकुटी चन्द्रशमशेर जबराले चलाएका थिए।

१ अर्ब २९ करोडको कोष

कोषले नगद मौज्दातबाट १ अर्ब २९ करोड रुपैयाँको अक्षय कोष खडा गरेको छ । अक्षय कोषको रकम विभिन्न बैंकमा राखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष थापाले बताए।

समृद्ध संस्थाका रूपमा विकसित गराउन कोष स्थापना गरिएको सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । अक्षय कोषको रकमबाट प्राप्त हुने ब्याजको केही रकम सामाजिक काम र विपतका बेलासमेत प्रयोग गर्ने योजना कोषको छ।

जग्गा १८ हजार रोपनी

पशुपतिनाथ मन्दिरका नाममा १८ हजार ३ सय ४२ रोपनी जग्गा पत्ता लागेको छ । पशुपति गुठीअन्तर्गतका तीन कार्यालय र गुठी संस्थानका नाममा समेत रहेको जग्गाको विवरण हो यो।

पशुपति गुठीअन्तर्गत अमालकोट कचहरी, जयबागेश्वरी भण्डार तहबिल र पशुपति भण्डार तहबिल गरी तीनवटा कार्यालय छन् । यी तीन कार्यालयको व्यवस्थापन अमालकोट कचहरीले गर्दै आएको थियो । २०५६ सालमा अमालकोट कचहरी कोषअन्तर्गत आएको थियो।

२०२१ सालमा भएको नापीअनुसार पशुपतिका तीनवटा गुठीअन्तर्गत ४ हजार ८ सय ५ रोपनी जग्गा थियो । अमालकोट कचहरीअन्तर्गत १ हजार ४ सय ९९ रोपनी, पशुपति भण्डार तहबिलअन्तर्गत २ हजार ७ सय ९५ रोपनी र जयबागेश्वरी भण्डार तहबिलअन्तर्गत ५ सय ११ रोपनी ८ आना जग्गा थियो।

प्रतिक्रिया दिनुहोस्