माघ दोस्रो साता दैनिक १९ हजारभन्दा बढीमा संक्रमण हुने



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेकाे छ। नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयकाे आँकलन छ। माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको छ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या १९ हजार बढी हुनसक्ने बताए। उनले अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने आकलन गरे। डा पौडेलको आँकलन अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ। यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको आकलन रहेको छ।

कस्तो छ तयारी ?

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रालयका सचिव डा. रोशन पोखरेलले होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिइएको र त्यसको संचालन प्रदेश सरकारले गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाए। उनले कोभिड विरुद्ध जनशक्ति परिचालन गर्न समस्या भएको भन्दै उनीहरुलाई भत्ता उपलब्ध गराउने काममा सहयोग गर्न समितिका सदस्यहरुलाई आग्रह गरे। सचिव पोखरेलले सरकारले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए।

उनका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन मन्त्रालयले राम्रो तयारी गरेको छ। उनका अनुसार प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, वाग्मती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता वृद्धि गरिएको छ।

संक्रमणदर ४५ प्रतिशत

नेपालमा म‌ंगलबारसम्म स‌क्रमणदर समग्रमा ४४.९ प्रतिशत पुगेको छ। यसमध्ये पीसीआर विधिबाट संक्रमण दर ४८.८ प्रतिशत रहेको छ भने एन्टिजेन विधिबाट ४४‍.९ प्रतिशत रहेको छ। पुसको १९ गते संक्रमण दर समग्रमा २.६ प्रतिशत रहेकोमा १५ दिनको अन्तरालमा संक्रमण दर रेकर्ड स्तरमा वृद्धि भएको हो।

५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १२

हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाazहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन्। २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ, कञ्चनपुर छन्।

सक्रिय संक्रमित कति?

देशमा सक्रिय संक्रमितको संख्या बढेर ३९ हजार ४४ पुगेको छ। मंगलबार थपिएका १० हजार २५८ संक्रमित समेत गरेर देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख ६८ हजार २१५ तथा एन्टिजेन विधिबाट १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा थप ५६२ जना संक्रमणमुक्त पनि भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुने दर ९४.२ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६२४ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

आईसीयू र भेन्टिलेटरमा कति ?

सक्रिय संक्रमितमध्ये धेरै जना घरमै एकान्तबास (होम आइसोलेसन) मा छन्। स्वास्थ्यमा समस्या देखिएका केही संक्रमित संस्थागत आइसोलेसनमा छन् भने गम्भीर अवस्था भएकाहरु अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। यस्तै, १५१ जना संक्रमित आईसीयूमा छन्। १ हजार २१८ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ३७ हजार ८२६ जना संक्रमितहरु भने होम आइसोलेसनमा रहेका छन्। भेन्टिलेटरमा रहेकामध्ये १८ जना बागमती प्रदेशका छन् भने प्रदेश १ का ८ जना र सुदूरपश्चिम प्रदेशका २ जना छन्।

प्रतिक्रिया दिनुहोस्