प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको छैन : सरकारका प्रवक्ता कार्की



काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएको भन्ने समाचार सञ्चारमाध्यमहरुमा आएपछि सरकारकारका प्रवक्ताले स्पष्ट पारेका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेका बेला मन्त्री कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका हुन् ।

उनले सर्बदलीय बैठक बोलाउने विषयमा छलफल समेत नभएको बताएका छन् । यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान ९ः३० बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो । तीन तहको चुनाव र त्यसमा देखिएको कानुनी संकटका विषयमा छलफल हुने भनिएको थियो । तर, प्रधानमन्त्री सचिवालय र मन्त्रीबीच कुरा बाझिएको छ ।

पहिला कानुनविद्हरुसँग कानुनी जटिलताको विषयमा परामर्श गर्ने र त्यसपछि मात्रै सर्वदलीय बैठक बोलाउने वालुवाटार श्रोतले बताएको छ । सरकार कानुनविद्हरुको सुझाव लिएर अगाडि बढ्ने निर्णयमा पुगेको छ । यसैबीच, नेकपा एमालेले पनि प्रधानमन्त्रीको सचिवालयले बैठकबारे कुनै जानकारी नआएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्