थप २३ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्दै



काठमाडौँ : ठूलो परिमाणमा आज नेपालमा कोरोनाविरुद्धको मोर्डना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अनुसार आज २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आउन लागेको हो।

यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ। यो खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्नेछ।

सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ। सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरसियाले बताए। यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ। यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो। अहिले आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय नभएको आपूर्ति शाखा प्रमुख चौरसियाले बताए।

प्रतिक्रिया दिनुहोस्