खोप अभियानको एक वर्ष पूरा



काठमाडौं । कोरोना महामारीपछि त्यसविरुद्ध खोप लगाउन थालिएको शुक्रबार एक वर्ष पूरा भएको छ । यो एक वर्षमा देशको कूल जनसंख्याको एक करोड ३७ लाख ३४ हजार ३ सय ९० ले पूर्ण मात्रा खोप लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।
तथ्यांकअनुसार नेपालमा अझै सबै उमेर समूहका एक करोड ५४ लाख बढीले खोप लगाएका छैनन् ।
सरकारले गतवर्ष माघ ८ गते भारत सरकारबाट अनुदान सहयोगमा १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त गरेको थियो । खोप भारतबाट अनुदानमार्फत् माघ ८ गते नै आइसकेको भए पनि आवश्यक तयारी गर्नुपर्ने भएकाले सरकारले गत वर्ष माद्ध १४ गतेबाट खोप अभियान सुरु गरेको थियो । एक मात्रा खोप लगाएकाको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ । यस्तै, अतिरिक्त खोप लगाउनेको संख्या २ लाख ८२ हजार ७ सय २४ पुगेको छ ।
मन्त्रालयका अनुसार ४५.२ प्रतिशतलाई पूर्ण खोप र ५४.२ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । लक्षित जनसङ्ख्याका ६८.९ प्रतिशतले पूर्ण मात्रा, ८२.६ प्रतिशतले कम्तीमा एक मात्रा लगाएका छन् ।
नेपालमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालीन निर्देशक डा. सागरराज भण्डारीले लगाएका थिए । खोप अभियानको सुरुवातमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लाई प्राथमिकतामा राखेर भएको थियो । लगत्तै वृद्धावृद्ध, वयस्क, र बालबालिकालाई खोप दिइएको थियो । सरकारले आगामी चैतसम्म १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
नेपाल दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा पनि परेको छ ।
सातै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनेका र भेरोसेलको पहिलो÷दोस्रो मात्रा खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल, ५७ जिल्लामा मोडर्ना खोप लगाइँदैछ ।
सरकारले अनुदान र खरिदमार्फत कोरोनाविरुद्धको खोप कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल, जोनसन, फाइजर मोडर्ना खोप प्राप्त गरेको छ । सरकारले ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप प्राप्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, मंगलबारसम्म विश्व बैंकको सहयोगमा ४० लाख मोडर्ना खोप आइपुग्ने भनिए पनि १६ लाख ६० मात्रै पाइपुगेको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।
बुधबार कोभ्याक्समार्फत फ्रान्स र इटालीले नेपाललाई १३ लाख खोप प्रदान गरेका छन् । नेपालले हालसम्म कोभिसिल्ड र एस्ट्राजेनेकाको एक करोड ३८ लाख २४ हजार ५६० मात्रा खोप प्राप्त गरेको छ । यस्तै, भेरोसेल एक करोड ९७ लाख ३६ हजार चार सय मात्रा, जोन्सन ३७ लाख ११ हजार पाँच सय मात्रा प्राप्त गरेको छ । ७ लाख ६५ हजार १८० मात्रा फाइजर खोप ल्याइएको छ ।
यसबाहेक अहिले ४० लाख मात्रा चीनको सिनोभ्याक खोप पाइपलाइनमा छन् । यस्तै सरकारले खरिद गरेको ४० लाख मोडर्ना खोपमध्ये १६ लाख ६० हजार मात्रा आइपुगेको छ भने बाँकी २३ लाख ४० हजार मात्रा आउने क्रममा रहेको उनले बताए ।
गाभी र कोभ्याक्स अन्तर्गत ६२ लाख मात्रा फाइजर खोप पाइपलाइनमा छ । चैत मसान्तसम्म १८ वर्षमाथिका सबै उमेर समूहलाई खोप लगाइदिन पाइपलाइन र भण्डारणमा रहेको खोपले पुग्ने उनले बताए । खोप खरिद र अनुदानमा आउने क्रम जारी रहेकाले लक्ष्यअनुसार चैतसम्ममा १८ वर्षमाथिका सबैलाई पूर्ण मात्रा दिन सकिने उनले बताए ।
नेपालले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने बताएको छ । खोप सल्लाहकार समितिको सुझावमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई खोप दिने योजना बनाएको हो । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्