धरानमा ४ र वीरगञ्जमा २ कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोभिड १९ को तेस्रो लहरको चपेटामा परेको धरानमा पछिल्लो पाँच दिनमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने अधिकांश दीर्घरोगी भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य मशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतक सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको पनि उनले बताए । ‘मृत्यु भएका अधिकांश दीर्घरोगी थिए, हस्पिटलमा जाँच गर्दा पोजिटिभ आएको हो,’ मेहताले भने ।
कोरोना संक्रमित हुने तथ्यांकमा पनि सुनसरी जिल्लामा धरान बढी छ । यस्तै, सक्रिय संक्रमित पनि धरानमा बढी रहेको छ ।
यस्तै वीरगन्जमा शनिबार कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारत दुईजना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।
अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षिया संक्रमित महिलाको शनिबार बिहान मृत्यु भएको हो ।
अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन् ।
यस्तै नारायणी अस्पतालमै उपचारत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ । मुटु रोगको समस्या रहेका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको र शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कोरोनाको तेश्रो लहरमा वीरगन्जमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्