अफगानी आक्रमणमा परी पाँच जना पाकिस्तानी सैनिकको मृत्यु



एजेन्सी : अफगानिस्तानबाट भएको गोलीबारीमा परेर सीमा क्षेत्रको सैन्य पोस्टमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इस्लामाबादले जनाएको छ । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएयता यस किसिमको यो दोस्रो आक्रमण रहेको इस्लामावादले जानकारी दिएको छ ।

इस्लामाबादले आफ्नाप्रतिवद्धताहरू पूरा नगरेको भन्दै डिसेम्बरको सुरुमा अफगान तालिबानले मध्यस्थता गरेको एक महिना लामो युद्धविराम सम्झौताबाट एकतर्फी रूपमा बाहिरिएर तहरीक ए तालिबान (टीटीपी)समूहले आक्रमण बढाएको हो ।

अफगानिस्तान भित्रका लडाकुहरूले कुर्रम जिल्लामा सीमापारबाट पाकिस्तानी सेनामाथि गोलीबारी गरेको पाकिस्तानी सेनाको मिडिया शाखा, आईएसपीआरले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

अफगानिस्तानी भूमिलाई आतंकवादीहरूले पाकिस्तान विरुद्धको गतिविधिका लागि प्रयोग गरेकोमा पाकिस्तानले कडा निन्दा गरेको छ । अन्तरिम अफगान सरकारले भविष्यमा पाकिस्तान विरुद्ध यस्ता गतिविधिहरू सञ्चालन गर्न अनुमति नदिने आशा पाकिस्तानले राखेको छ ।

यसअघि बलुचिस्तान प्रान्तमा विद्रोहीहरूले दुईवटा सैन्य चौकीमा आक्रमण गरेपछि चालु गरेको तीन दिनको कारबाहीमा कम्तीमा २० विद्रोही र नौ सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ । त्यसको एकदिनपछि यो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्