इरानमाथिको नाकाबन्दीले तेल बजारमा तरंग, तेलको मूल्य बढ्न सक्ने



काठमाडौं : संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरंग उत्पन्न भएको छ । विज्ञहरूले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । 

विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताए । उनले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए । 

इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ताविरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ । इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ । 

ओपेकसँग आबद्ध राष्ट्रहरूमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । संयुक्तराज्य अमेरिकाले इरानविरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रति दिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो । 

अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरे पनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गरेका थिए । तर, उनले ती देशहरूको नाम सार्वजनिक गरेका छैनन् ।

टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ । विश्लेषकहरूले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन् । विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्