विकास र संरक्षणबीच असन्तुलन



टीका बन्धन
काठमाडौं । चितवनमा निर्माणाधीन सडकको नालीमा खसेर एक सिंगे गैँडा मरेको खबर सेलाउन नपाउँदै अर्को यस्तै घटना तनहुँमा दोहोरिएको छ ।
लोपोन्मुख गिद्ध (सानो खैरो गिद्ध) बच्चा कोरल्न ओथारो बसेको अवस्थामा गुँडसहितको रूख काटिएको छ । शुक्लागण्डकी नगरपालिका– २ गाछेपानी सिमल चौतारास्थित पृथ्वी राजमार्ग किनारसँगैको सिमलको रूखमा २ वर्षदेखि सानो खैरो गिद्धले गुँड लगाएको थियो ।
पृथ्वी राजमार्ग विस्तारका क्रममा गत बुधबार रूख काटिएको हो । सडक विभाग, सडक निर्माणका ठेकेदार कम्पनी, डिभिजन वन कार्यालय, नगरपालिकालगायतका निकायलाई बच्चा हुर्किएपछि मात्र रूख काट्न ध्यानाकर्षण गराउँदा गराउँदै लोपोन्मुख पक्षीको वंश विनाश गराइएको पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले बताए ।
गिद्ध ओथारो बसेको थाहा पाएपछि सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको बताउँदै उनले भने, ‘यो दुर्लभ पक्षी हो, यसले बच्चा हुर्काएपछि मात्र रूख काट्नुहोला भनेर पत्र बुझाएका थियौँ । मौखिक रूपमा पनि भनेका थियौँ तर सुनुवाइ भएन, यो सरासर अपराध हो ।’
घटनाबारे आपत्ति जनाउँदा सरोकारवाला निकाय एकअर्कालाई दोष देखाउँदै पन्छिने गरेका घिमिरेको भनाइ छ ।
विश्वमा गिद्धका २३ प्रजाति फेला परेका छन् । एसियाली मुलुक र नेपालमा गिद्धका ९ प्रजाति अभिलेख भएका छन् । नेपालमा डङ्गर, लामो ठुँडे, सानो खैरो, सुन, सेतो, हिमाली, हाडफोर, खैरो र राज गिद्ध पहिचान भएका छन् ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले नेपालमा पाइनेमध्ये सानो खैरो, डङ्गर, लामो ठुँडे र सुन गिद्धलाई अतिसङ्कटापन्न सूची (रेड लिस्ट)मा सूचीकृत गरेको छ । अन्य प्रजातिको तुलनामा नेपालमा सानो खैरोको संख्या निकै कम छ । नेपालभर यो पक्षको संख्या ५० देखि ७५को हाराहारीमा रहेको विज्ञहरूको ठहर छ ।
यस प्रजातिको गिद्धको उपस्थिति कास्की, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, दाङ, कैलाली, कंचनपुर, पाल्पा, स्याङ्जा, तनहुँ, लमजुङलगायतका भेगमा छ । नेपालमा यस प्रजातिको गिद्धले एक दशकको अवधिमा ७ वटा गुँड लगाएको पाइएको छ ।
५ महिनाअघिको अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका क्रममा भएको साताव्यापी अनुगमनका क्रममा नेपालका विभिन्न भेगमा ३३ वटा सानो खैरो गिद्ध भेटिएका थिए ।
विगत ५ वर्षको अवधिमा सानो खैरो गिद्धका ४ वटा मात्र गुँड फेलापरेका र ४ मध्ये एउटा गुँड तनहुँको सिमल चौतारामा भेटिएको गिद्ध अनुसन्धाता हेमन्त ढकालले बताए ।

सानो खैरो गिद्ध ओथारो बसेको सिमलको रूख (काटिनुअघि) तस्बीर सौजन्यः हेमन्त ढकाल

कास्कीको दोभिल्लाबाट बसाइँ सरेको सानो खैरोको जोडीले सिमल चौतारामा विगत २ वर्षदेखि गुँड लगाएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष एउटा वच्चा हुर्काएको थियो, यस पटक थाहा पाउँदा पाउँदै यस्तो घटना भयो ।’
ढकालका अनुसार सो जोडीले पुरानो गुँड छाडेर सोही रूखको अर्को हाँगामा नयाँ गुँड बनाएको थियो । विज्ञहरूकाअनुसार सानो खैरो गिद्धका भालेपोथी पालैपालो ओथारो बस्छन् । मंसिर आसपासबाट गुँड बनाउन सुरु गर्ने यो गिद्धले जेठ अन्तिमसम्ममा बच्चा हुर्र्काइसक्छन् ।
मानव बस्ती नजिक बस्न रुचाउने नजिकै स्वच्छ पानी, आहारा (सिनो) पाइने पाइने सुनिश्चित भएपछि सानो खैरो गिद्ध ३ वर्षअघि पोखराको दोबिल्लाबाट तनहुँको सिमल चौतारा बसाइँ सरेको ढकालले जानकारी दिए । अहिले काटिएको रूखमा बसोबास गर्न थालेको जोडीले गत वर्ष एउटा बच्चा हुर्काएको उनले बताए ।
‘हामीले पनि अनुगमन गरिरहेका थियौँ, स्थानीय बासिन्दाले पनि हामीलाई यस्तै ब्रिफिङ गर्नुभएको थियो’, आईयूसीएनका गिद्ध विज्ञ समूहका सदस्यसमेत रहेका ढकालले भने । नेपाल पक्षी संरक्षण संघ (बीसीएन)लगायतका संरक्षण साझेदार संघसंस्थाले यस घटनाको भत्सर्ना गरेका छन् ।

‘ज्यादै दुःखद् घटना’

करणबहादुर शाह, अध्यक्ष बीसीएन


गिद्धलगायतका दुर्लभ जिवजन्तुको संरक्षणमा सरकार र संरक्षण साझेदार संघसंस्थाबीच कार्ययोजना बनाएर सहकार्य भइरहेको छ । अर्कोतर्फ यस्तो दुःखद् घटना भइरहेको छ । २ महिना हाराहारी रूख नकाटिएको भए लोपान्मुख पक्षीको अर्को सदस्य थपिने थियो ।
दुर्लभ पक्षीको महत्त्व नबुझ्दा संरक्षणलाई एउटा कानले सुन्ने, अर्को कानले उडाउने काम भएको छ । सडक, वन कार्यालय, नगरपालिका र वडा तहलाई समेत जानकारी गराउँदा यस्तो काम हुनु ज्यादै दुःखद् घटना हो ।
लोपोन्मुख गिद्धले गुँड लगाएको, ओथारो बसेको बारे स्थानीय बासिन्दा जानकार थिए । वडा र अन्य कार्यालय एकअर्कोलाई देखाउँदै पन्छिए पनि स्थानीयले तत्काल रूख काट्न आग्रह गरेका भए यो घटना हुँदैनथ्यो । प्रत्यक्ष फाइदा पाउने सु्निश्चित भएको भए स्थानीयले रूख काट्न अवरोध पनि गर्थे ।
यो घटनाले आगामी दिनमा संरक्षण अभ्यासमा ठूलो पाठ सिकाएको छ ।

मुग्लिन–पोखरा खण्डमा काटिँदै छन् ८ हजार रूख

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँ खण्डमा साढे ६ हजारभन्दा बढी रूख काटिँदै छन् । डिभिजन वन कार्यालय तनहुँका अनुसार पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि कोत्रेसम्म ६ हजार ७५० हाराहारी रूख बिरुवा काटिनेछन् ।
अहिले रूख काट्ने काम धमाधम भइरहेकाले यस क्रममा वर्षौं पुराना वर–पीपल, सिमल, खयरलगायत सबै प्रजातिका रूख काटिने कार्यालयले जनाएको छ । कास्की खण्डमा पनि १ हजार २५० हाराहारी रूख काटिँदै छन् ।
२ वटा चिनियाँ कम्पनीे (यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन)ले सडक विस्तारको जिम्मा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्