अनलाइनमा बाल सुरक्षा सम्बन्धी भिडिओ प्रतियोगिता हुने, यसरी हुनुहोस् सहभागी



काठमाडौं : दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनमा बाल सुरक्षा सम्बन्धित भिडिओ प्रतियोगिता आयोजना गर्ने भएको छ। सिर्जनशील समाज नेपालसँग संयुक्त आयोजनामा प्राधिकरणले यो प्रतियोगिता गर्न लागेको हो।

साथै प्रतियोगिताका लागि राष्ट्रिय बाल अधिकार परिषद्सँग र नेट फर अलायन्ससँग सहकार्य गरिएको छ। प्राधिकरणले आज अर्थात फेब्रुअरी ८ तारिखमा विश्वभर मनाउँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ लाई लक्षित गर्दै यो प्रतियोगिता अघि बढाएको हो।

प्रतियोगितामा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन पाउनेछन्। सातै प्रदेशका बालबालिकालाई समेट्ने गरी प्राधिकरणले यो प्रतियोगिता अघि बढाएको छ।

प्राधिकरणका अनुसार यस प्रतियोगिताका लागि अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाइन बाल सुरक्षा बाल क्लब, स्थानीय तह, सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यास, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर, विकासमा सूचना, सञ्चार तथा प्रविधिको भूमिकामध्य कुनै एक वा एकभन्दा बढी विषयमा भिडिओ बनाउन सक्नेछन्।

यसरी भिडिओ बनाउँदा भिडिओ बढीमा दुई मिनेटको हुनुपर्ने र एमपीफोर फर्म्याटमा उपलब्ध गराउनुपर्ने जनाइएको छ। यसरी भिडिओ बनाएर सहभागी हुन चाहनेले प्रदेश अनुसार तोकिएको ईमेलमा भिडिओ पठाउनुपर्ने प्राधिकरणले जनाएको छ।

यसरी प्राप्त भएको भिडियोमा विशेषज्ञ समितिले मूल्यांकन गरी प्रत्येक प्रदेशबाट प्रत्येक विषयमा उत्कृष्ट एक भिडिओ छनोट गरी पुरस्कार प्रदान गरिने प्राधिकरणले जनाएको छ। यसमा सहभागी हुनका लागि फागुन २ गतेसम्म भिडिओ पठाइसक्नुपर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्