भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा



 

 मोरङ :   भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ का वडाअध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध जिल्ला अदालतमा मुद्दा परेको छ ।

 

मोरङ जिल्ला सरकारी वकिलको कार्यालयले २ जना जनप्रतिनिधिसहित १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको मुद्दा दायर गरिएको हो । जिल्ला अदालत मोरङ श्रेस्तेदार इश्वरमणि ओझाले सोमबारबाट मुद्दाको सुनुवाई प्रक्रिया सुरु हुने जानकारी दिए ।

 

वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिना, कटहरी गाउपालिका १ का सत्यनारायण पोद्दार, झुटो विवरण पेस गरी नागरिकता लिने विराटनगर १ बस्दै आएका सञ्जित पोद्दार, धिरज पोद्दार, राजेन्द्र पोद्दार, जितेन्द्र पोद्दार, रोशनकुमार पोद्दार, मिथिलेश्वर पोद्दार, पवन पोद्दारविरुद्ध मुद्दा परेको छ ।

 

त्यस्तै सर्जमिन मुचुल्कामा साक्षी बस्ने विराटनगर महानगर १ बस्ने सीमादेवी राम हरिजन, मनोज हरिजन, छेटेलाल मुखिया, सुनसरी कोशी गाउँपालिका १ बस्ने सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने वैद्यनाथ शर्मालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ ।

 

मुद्दा दायर गरिएकामध्ये सत्यनारायण पोद्दार पक्राउ परेका छन् । पक्राउ परेका पोद्दारले ७ जना भारतीय नागरिकलाई छोरा बनाएर नागरिकता बनाइदिएको अभियोग छ । वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित अन्य फरार रहेका प्रहरीले जनाएको छ ।

 

विभिन्न मितिमा नागरिकता लिएको आरोपमा १६ जनालाई छुट्टा छुट्टै ६ वटा अभियोग तयार पारेर मुद्दा दायर गरिएको छ । झुटा विवरण पेस गरी नागरिकता दिलाउने सत्यनारायण पोद्दार र वडा सदस्य रमेश साहलाई ६ वटै मुद्दामा प्रतिवादी बनाइएको छ ।

 

वडाबाट सिफारिस गर्ने वडा सचिव पुष्पा तिम्सिनालाई ४ वटा मुद्दामा प्रतिवादी बनाइएको छ भने वडा अध्यक्ष उद्धव अर्याललाई २ वटा मुद्दामा प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्