टेलिकमले ६ महिनामा कमायो तीन अर्ब ८९ करोड नाफा



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (६ महिना)मा तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले गत आवको सोही अवधिको तुलनामा यस वर्ष नाफा १८.४९ प्रतिशतले बढाएको हो। गत आवको सोही अवधिमा कम्पनीले तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ८.३६ प्रतिशतले सञ्चालन आय बढाएर १९ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीसमेत बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ रुपैयाँ ८६ पैसाबाट ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६।७६ गुणा रहेको छ। यस्तै प्रतिसेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्