एनसेलमा कल गर्न अब झनै सस्तो पर्ने



काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवा प्रयोग गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक १.९९ रुपैयाँ प्रतिमिनेटबाट घटाएर करबाहेक प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समानरुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गोु दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको कम्पनीले जनाएको छ । यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107#  डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन्, एनसेल आजियाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन-नेट र अफ-नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । हामी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मूल्य प्रदान गर्न सदा प्रयासरत रहेका छौं । यो नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागू रहनेछ, कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्