चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु



कैलाली : सेती अञ्चल अस्पतालका चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारीकी २२ बर्षीया तुल्सी धामीको सुत्केरीपछि अत्यधिक रक्तश्राव भएको थियो । तर, उनले २ घण्टासम्म उपचार नपाएपछि ज्यान गएको हो । 

सुत्केरीको मृत्युपछि अस्पतालले गल्ती स्वीकार्दै माफी मागेको छ । अस्पतालले माफी मागेपछि आफन्तले शव बुझेका छन् । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर हेमराज पाण्डेले नवजात शिशुको स्वास्थ्यमा समस्या आएमा निशुल्क उपचार समेत गर्ने सहमती गरेपछि उनीहरुले शब बुझेका हुन् । 

समयमा चिकित्सकले ध्यान नदिदा सुत्केरीको ज्यान गएपनि आगामी दिनमा सचेत रहन आग्रह गर्दै शब बुझेको मृतकका भिनाजु योगेन्द्र थापाले बताए ।

नवजात शिशुको अवस्था भने सामान्य छ । १४ गते अस्पताल भर्ना भएकी धामीले १६ गते शल्यक्रिया गरेर शिशु जन्माएकी थिइन् । सल्याक्रियापछि उनलाई उच्च रक्तश्राप भएपनि चिकित्सकले १७ गते उनको मृत्यु भएको श्रीमान दिपक धामीले बताए । 

सुुरुमा चिकित्सकले अवस्था सामान्य भएको बताएपनि पछि शल्यक्रिया गरिएको थियो । 'पहिले अवस्था सामान्य भनेका थिए, तर अप्रेसन गरे', उनले भने– 'श्रीमतीको अवस्थाबारे स्पस्ट जानकारी दिएको भए ज्यान जोगाउन सकिथ्यो कि ?'

यता, धामीको शल्यक्रिया गरेका चिकित्सक खगेन्द्र भट्टले सुत्केरीलाई अन्य रोगको समेत संक्रमण देखिएकाले ज्यान जोगाउन नसकेको दाबी गरे । कुनैपनि चिकित्सकले बिरामीलाई बचाउने उद्देश्यले नै उपचार गर्ने भएपनि कतिपय अवस्थामा परिणाम दुखद आउने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्