अनसनरत रुबी खान र सरकारबीच सहमति



काठमाडौं । सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो अनसन स्थगित गरेकी छन् ।
गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै खानले अनसन स्थगित गरेकी हुन ।
मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर उनको अनसन तोडिएको हो ।
७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएको छ । समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि छन् । अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी छिन् । गृहमन्त्रालयका अधिकारीहरुले भने दाषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।
अनसन तोडेपछि खानले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरूको जित भएको बताइन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा रुबीले समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइन् । अनशन तोड्ने कार्यक्रममा अनुराधा कोइराला, काठमाडौं प्रहरी प्रमुख अशोक सिंह, मोहना अन्सारी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्