ए डिभिजन लिग : मनाङमाथि एपीएफको जित



काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक एक गोल गरे । मनाङका अन्जन विष्टले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो ।

खेलको ३७ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । गोलकिपर विशाल सुनारको लामो पासमा एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको अवस्थामा अन्जनले हेडर मार्फत गोल गरे ।

तर, खेलको ४० औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १-१ को बराबरीमा ल्याए । कप्तान नविन लामाको पासमा मनाङका डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गर्न नसकेको बल अघि बढाउदै आशिषले सहजै गोल गरे । खेलको ८१ औं मिनेटमा मनिले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले सहजै गोल गरेका हुन् ।

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए । यस जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्