किन उठ्न सकेन काठमाडौं उपत्यकाको फोहोर ?



काठमाडौं । काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फोहर उठ्न छाडेको हो । काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ।

महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आआफ्नो  घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्ट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ।’ नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएकाे छ । उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

तर,मडखु-तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ । उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।  निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर-ट्रकले नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्