एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने



काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ।

आज बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

‘हामी एमसीसीको विपक्षमा उभिने छौं,’ बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता खतिवडाले भने, ‘सबैलाई विपक्षमा उभिने भन्ने छौं र त्यसका लागि वातावरण बनाउने छौं ।’

एमसीसीको प्रक्रियाबारे सामान्य मतभेद भएपनि अरु कुनै विवाद नभएको खतिवडाको भनाइ छ । ‘सामान्य व्यवस्थापकीय कुरामा चर्चा चलेको कुराले हाम्रो एकतालाई काहीँ पनि तोड्न सक्दैन,’ उनले भने, ‘यसमा हाम्रो कुनै मतभेद छैन् ।’

‘सरकारमा जाँदा एमसीसी पास गर्ने शर्तमा गएका थिएनौं,’ खतिवडाले भने, ‘सरकारमा रहने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्ने कुरा आवश्यक छैन् । यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।’उनका अनुसार सचिवालय बैठक भोलि पनि बस्ने छ।

प्रतिक्रिया दिनुहोस्