ललितपुर मेयर महिला टी–२० मा सुदूरपश्चिम र एपिएफको जित



काठमाडौं । आयोजक टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले मंगलबार शुरु भएको ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको उद्घाटन खेलमा ललितपुर मेयर्स–११ लाई हराउँदै सुदूरपश्चिमले विजयी शुरुआत गरेको हो ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८५ रन मात्र जोड्न सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन् । उनले २९ बल खेल्दा ६ चौका प्रहार गरेकी थिइन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्र रहेको टोली प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको छ । प्रदेश १ ले दिएको ५८ रनको झिनो लक्ष्य एपिएफले ११ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र बनाएको थियो । प्रदेश १ का लागि सवनम राईले सर्वाधिक १६ रनको पारी खेल्दा अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
प्रतियोगितामा बुधबार पनि २ खेल हुनेछन् । दिनको पहिलो खेल एपिएफ र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल आयोजकको टोली ललितपुर मेयर्स–११ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्