आईसीसी वरीयताः सन्दीप लामिछानेको १६ स्थान सुधार



काठमाडौं । आइसीसी टी-२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् ।आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९औं स्थानमा थिए ।

यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेको हो । यद्यपि छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन ।

वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्