रावल र सुवाललाई ठेगान लगाएर १३ गते एमसीसी पास गर्ने सरकारको तयारी



काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबल भएको ५ दिनभित्रै पास गर्ने सरकारले तयारी गरेको छ । सरकारले यही फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल गरिसकेको छ । संसदमा टेबल भएको उक्त सम्झौता फागुन १३ गतेभित्र पास गर्ने गरी सरकारले तयारी गरेको कांग्रेसका एक सांसदले बताएका छन् ।

टेबल भएको सम्झौताउपर भोलि (बिहीबार) बस्ने संसद् बैठकमा छलफल सुरु गराउने संसदसचिवालयले कार्यसूचि सार्वजनिक गरेको छ। अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारको ध्यानाकर्षण गराएअनुसार १३ गते नै पास गराउने तयारी सरकारले गरेको छ ।

सत्तासाझेदार दलहरू नै सम्झौताको विपक्षमा उभिएपछि एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले गरिरहेको पहल अर्थपूर्ण भएको छैन । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा)भित्र डा.बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छ।

प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा जुटेका छन्। संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गराउने देउवाको गृहकार्य रहेको उनी निकट स्रोतले जनाएको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) तथा सत्तासारथि दल नेकपा (माओवादी केन्द्र)का नेतृत्वसँग पनि छलफल गरेका छन्। १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिने वचन दिइसकेको छ।

सरकारको तयारी संभवभए १२ गते नै र नभए १३ गते छलफलपश्चात् सम्झौता संसद्मा निणायार्थ पेस गर्ने रहेको छ । प्रतिपक्ष दलसँगको भेट–संवाद अनि गृहमन्त्रीको दौडधुप त्यसै कारणले भएको उक्त संसदको दाबी छ ।

संसद् अवरुद्ध छ, त्यसकारण एमाले बोल्दैन । माओवादी र समाजवादी बोल्ने कुरै भएन । बोल्ने भनेको त्यही भीम रावल र प्रेम सुवाल हो । उनीहरुलाई सरकारको नेतृत्व गरिरहेको कांग्रेसका केही नेताले जबाफ दिएर एमसीसी निर्णयार्थ पेस गर्ने सरकारको तयारी छ । एमसीसी जति भित्र छलफल हुन्छ बाहिर पनि त्यति नै विरोध हुने सरकारको अनुमान रहेको छ । यसकारण सरकार एमसीसी विषयमा संसद लम्ब्याउने सोचमा छैन ।

प्रतिक्रिया दिनुहोस्