नायक पल शाहविरुद्ध गायिका समीक्षाले दिइन् प्रहरीमा उजुरी



काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन् ।  कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन् । प्रहरीले त्यतिबेला सबैकुरा सुनेर्बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो । प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए ।

आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घटना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए।

प्रतिक्रिया दिनुहोस्