महाशिवरात्रीमा भक्तजनलाई समस्या हुन नदिन निर्देशन



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिएका हुन् । महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउन गर्नसमेत उनले निर्देशन दिए । शिवरात्री पर्वको समयमा देश विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायतका कुरामा अहोरात्र खटिन र भव्य तथा सभ्यरुपमा सफल पार्नसमेत उनले आग्रह गरे ।
पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिए । यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा पर्खालमा गरिन लागेको भगवानका चित्र निर्माणका कार्य तत्काल सक्नसमेत निर्देशन दिए ।
यस वर्षको महाशिवरात्री पर्व यही फागुन १७ गते मङ्गलबारका दिन परेको छ । यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्