गाउँ–गाउँमा जनचेतनामूलक कचहरी नाटक



खोटाङ । खोटाङको ६ स्थानमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको छ। साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरेको हो।

वैदेशिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम गर्ने, घरमा हुने बुवाआमाको पारिवारिक बेमेल र झैझगडाको कारण बालबच्चामा पर्ने असर न्यूनीकरण गर्ने लगायतका सन्देश प्रवाहका लागि जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए।

फागुन ९ गते सोल्माबाट सुरु गरिएको जनचेतनामूलक कचहरी नाटक प्रदर्शन बुधबार दिक्तेल इङ्लिस बोर्डिङ स्कुल हुँदै बुइपामा पुर्‍याएर टुङ्ग्याइएको छ। कचहरी नाटक हेर्न स्थानीयको बाक्लो भिड लागेको थियो। कचहरी नाटकले अधिकांशको मन जितेको साइनो कला केन्द्रको दाबी छ। सोही जनचेतनामूलक कचहरी नाटक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको दुई स्थानमा प्रदर्शन गरिने कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा साइनो कला केन्द्रले गाउँ–गाउँमा पुगेर कचहरी नाटक प्रदर्शन गरेको हो।

अनिल सुब्बाले निर्देशन गरेको जनचेतनामूलक कचहरी नाटकमा पवित्रा राई, कविराज राई, सञ्जीव राई, योगीन राई, सविना राई, निरुता खत्री, रोजिना खत्री, कौशिला राई र दीपेन्द्र राईको अभिनय रहेको छ। साइनो कला केन्द्रमा कचहरी नाटक सम्बन्धी १० दिने वर्कसपपछि कचहरी नाटकलाई गाउँ–गाउँमा पुर्‍याइएको हो।

प्रतिक्रिया दिनुहोस्