गुल्मेली गुँड उत्पादन ब्रान्डेड बन्दै



गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ माझगाउँका दिलबहादुर क्षेत्रीको दिनचर्या ताउलामा गुँड घोट्नै मै बित्छ ।
बिहानै उठेदेखि उनी र उनकी श्रीमति उर्मिला क्षेत्री गुँड उत्पादन गर्नमै व्यस्त हुन्छन ।
यो क्षेत्रमै गुँड उत्पादनमा अग्रणी किसान केही वर्षदेखि व्यवसायिक गुँड उत्पादनमा क्रियाशील मात्र छैनन, उनले पारेको गुँड बुटवल नारायणगढदेखि काठमाडौंसम्म पुग्छ ।
महिनाको १५/२० क्विन्टल गुँड उत्पादन गरेको बताउने दिल बहादुरलाई यतिबेला गुँड उत्पादनमा यति रस बसेको छ कि यो नै उनको व्यवसाय हो ।
‘जति पारेपनि पुर्‍याउनै सकिदैन, दिनैपिच्छे थोर्गेली गुँडको माग बढिरहेको छ,’ दिलबहादुर भन्छन् ।
थोर्गा, उखु खुदो र गुँडको उत्पादनका लागि यतिबेला प्रसिद्ध भएको छ । मुख्य रुपले यही क्षेत्रको खुदोबाट उत्पादन हुने गुँड अर्गानिक छ ।


दिल बहादुर जस्तै यस गाउँका इन्दुवर ज्ञवाली, चोलानाथ ज्ञवाली, रामचन्द्र ज्ञवाली र लेखनाथ ज्ञवाली पनि कहलिएका गुँड उत्पादक किसान हुन् । ‘मैले उत्पादन गरेको गुँड काठमाडौको बजारमा जान्छ, यहाँबाट उत्पादन गरेर पठाउँछु सजिलै उचित मूल्यमा बिक्छ,’ इन्दुवर ज्ञवालीको भनाई छ ।
बिहानैदेखि गुँड घोट्न व्यस्त रहने यी गुँड उत्पादक किसान हरुले हरेकले दिनको एक क्विन्टल गुँड उत्पादन गर्छन् ।
किलोको बजार मूल्य १७० होलसेलमा जाने गुँड काठमाडौको बजारमा पुग्दा तीन सय रुपैयाँ किलोमा बिक्री हुने गरेको छ । दिलबहादुरले वर्षभरीमा ३० लाखभन्दा बढीको गुँडको कारोबार गछैन्, जुन ग्रामीण क्षेत्रमा ठूलै व्यवसाय हो ।
यहाँ उत्पादन हुने गुँडमा मसालेदार, फसफसे, हाडे र चाम्रे हो । यी चारै प्रकारका गुँडको स्वाद स्वादिष्ट मात्र होइन स्वस्थवर्धक पनि हो । यी किसानहरुले वर्ष भरि नै गुँड पार्छन र जहिले पनि उनीहरुको घरमा गुँड उपलब्ध छ ।
लामो समय वैदेशिक रोजगारीबाट फर्केपछि दिलबहादुरलाई आफ्नै गाउँमा फर्केर व्यवसाय गर्ने रहर जाग्यो र करिब पाँच वर्षदेखि यही पेशालाई आफ्नो व्यवसाय बनाएका हुन् ।
इन्दुवर ज्ञवाली नेपाली सेनाबाट अवकास भएका हुन भने लेखनाथ ज्ञवाली पूर्व शिक्षक हुन् । गुँड उत्पादक रामचन्द्र ज्ञवाली र चोलानाथ ज्ञवाली गाउँका राम्रा किसान मान्निछ ।
यतिबेला यी किसानका पौरखी हातहरु गुँडका ताउलामा नाचिरहेका मात्र छैनन समृद्धितर्फ पनि उन्मुख छन् । गत वर्ष मात्रै करिब डेढ करोडको गुँडको व्यापार गरेका यी उद्यमी किसानहरुले करिब दुई करोडको गुँडको कारोबार गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्