भोटखोलाबाट गर्भवती महिलाको उद्धार



संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो। अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौं लगिएको हो। गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउँसो किमाथांका स्वास्थ्य चौकीमा भर्ना ल्याइएको थियो।

गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि बुधबार साँझ ४ बजे थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा लगिएको स्वास्थ्य सहसंयोजक तामाङले बताइन्। दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्लामा हालसम्म ४ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेका छन्।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका,गर्भमा नै बच्चाको मृत्यु भएमा र सुत्केरी पश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्