काठमाडौँ महानगरले दियो ए डिभिजन फुटबल क्लबलाई १०/१० लाख रुपैयाँ



काठमाडौँ । काठमाडौँ महनगरपालिकाले काठमाडौँका ए डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
पछिल्लो दुई वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
यसलाई निरन्तरता दिँदै काठमाडौँका पाँच क्लबलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
महानगरले संकटा क्लब, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, न्यूरोड टिम एनआरटी र मच्छिन्द्र क्लबलाई रकम हस्तान्तरण गरेको हो ।
अघिल्लो सिजनमा काठमाडौँमा रहेका ६ क्लबलाई महानगरपालिकाले रकम दिएको थियो । तर, सरस्वती क्लब बी डिभिजनमा झरेपछि यो पटक पाँच क्लबले रकम पाएका हुन् ।
कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि महानगरले सहयोग गरेको बताए ।

त्यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लवहरूको खर्च बढ्दै गएको र लिग महँगो हुँदै गएको अवस्थामा महानगरको योगदानले क्लबहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महानगरले चाँडै बी र सी डिभिजनका क्लबलाई पनि सहयोग गर्ने भएको छ । अहिले यसका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्