एमसीसी ‘उपहार’ हो कि ‘प्यान्डोराको बाकस’?



एजेन्सी । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले नेपाललाई एमसीसी मार्फत दिने भनेको अनुदान सहयोगको विषयमा फेरि टिप्पणी गरेको छ । नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति व्यंग्य गर्दै प्रश्न गरेकी छिन् ।

हुवाले बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रश्न गर्दै भनेकी छिन्, ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? त्यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस ?’

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएछ । नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ । हुवाले अमेरिकाको यस्तो धम्कीलाई स्मरण गर्दै यस्तो प्रश्न गरेकी हुन् । नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुने उनको भनाइ छ ।

चाइना न्युज सर्भिसले सोधेको नेपालसम्बन्धी प्रश्नमा उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताइन्। ‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जुलुम कूटनीति गरिनुहुँदैन,’ प्रवक्ता हुआले भनिन्।

प्रतिक्रिया दिनुहोस्