ललितपुर मेयर कप महिला क्रिकेटः लुम्बिनीको रोमाञ्चक जित



काठमाडौं । नेरी थापाको ह्याट्रिकमा लुम्बिनीले ललितपुर ११ माथि दुई रनको रोमाञ्चक जित हात पारेको छ । बुधबार ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेरी थापाले उत्कृष्ट बलिङप्रेरित लुम्बिनीले ललितपुर ११ माथि जित निकालेको हो ।
नेरीले उत्कृष्ट बलिङ गर्दै प्रतियोगिताको दोस्रो ह्याट्रिक आफ्नो नाम गराइन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।
कप्तान सरस्वती जीएमले सर्वाधिक ३१ रन बनाउँदा सरस्वती पुनले २० रन र नेरी थापाले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ९२ रन बनायो ।
ललितपुरका लागि कञ्चन श्रेष्ठले सर्वाधिक २२ रनको योगदान गरिन् । यस्तै, अस्मिना कर्माचार्यले २०, सना प्रविनले १२ र सुमन खतिवडाले ११ रनको बनाउँदा अन्य ब्याटरहरूले दोहोरो अंक जोड्न सकेनन् ।
ललितपुरको विजय यात्रामा नेरी बाधक बनिन् । प्लेयर अफ द म्याच चुनिएकी नेरीले ४ ओभर बलिङ गर्दै १ ओभर मेडन दिँदै ८ रन खर्चेर ४ विकेट लिएकी थिइन् ।त्यस्तै कृतिका मरासिनी ३ र सुष्मिता भुसालले २ विकेट हात पारिन् ।
बिहीबार प्रतियोगितामा एकमात्र खेल लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्