३७ करोड सकियो, अझै सकिएन चक्रपथ



  • सुरेश तामाङ

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ बनाएको चीनले यसअघि नै कोटेश्वर–कलङ्की १० किलोमिटर सडक खण्ड फराकिलो र चिटिक्क बनाइसकेको छ। चिनियाँ पक्षले चक्रपथको बाँकी खण्ड पनि यस्तै बनाउने विशेष चासो राखेको छ।

चिनियाँ पक्षले यसअघि नै कलङ्की–महाराजगंज ८ किलोमिटर खण्डको विस्तृत अध्ययन गरेर फर्किसकेको छ। तर, उनीहरू नेपाल नफर्कंदा भने चक्रपथको बाँकी खण्डको कार्य अगाडि बढ्नेमा अन्योल थपेको छ। सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखाका बहुपक्षीय शाखा प्रमुख लक्ष्मीदत्त भट्टले चिनियाँ पक्ष नेपाल नफर्किंदा चक्रपथको बाँकी खण्डको काम हुनेमा अन्योल थपिएको बताए। चिनियाँ पक्षलाई विभागले परराष्ट्रमार्फत ३ पटक चिट्ठी पठाए पनि त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए। ‘विभागले चिनियाँ पक्षलाई ३ पटक चिट्ठी पठाइयो तर त्यसको कुनै प्रतिक्रिया आएन । चिनियाँ पक्षले प्रतिक्रिया नदिँदा काम अन्योल भएको छ’, उनले भने।

नेपाल पक्षले सन् २०१७ यता चक्रपथको दोस्रो खण्डअन्तर्गतको कलङ्की–महाराजगंजमा मात्र ३७ करोड रुपैयाँ बढी रकम खर्चिसकेको छ । चीनले चक्रपथको दोस्रो खण्ड बनाउन विशेष चासो राखेपछि नेपाल पक्षले त्यस खण्डको संरचना हटाउने, बिजुलीका पोल हटाउने, सडक छेउका रूख हटाउन काठमाडौं चक्रपथ सडक विस्तार योजनाले ३७ करोड रुपैयाँभन्दा बढी रकम खर्चेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २५ करोड ७६ लाख ७० हजार, नेपाल विद्युत् प्राधिकरणले १० करोड ७२ लाख ५८ हजार ४६१, नेपाल वन निगमले ६२ लाख ३२ हजार ६३५ रुपैयाँ खर्च गरेको योजनाले दाबी गरेको छ । खानेपानीको पाइप बिछ्याउन, विद्युत् प्राधिकरणले नयाँ पोल र तार हाल्न र वन निगमले काठ कटान, मुछानका लागि रकम खर्च भएको योजनाका इन्जिनियर सञ्जय पन्थीले बताए।

कलङ्कीदेखि महाराजगंजसम्मको सडकको दायाँबायाँ खण्डमा रहेका रूख र बिजुलीका पोलहरू हटाउने कार्य सम्पन्न भइसकेको योजनाले जनाएको छ। वनस्थली खण्डमा भने पुराना पोलहरू हट्न नसकेको योजनाका इन्जिनियर पन्थीको भनाइ छ । त्यहाँ करिव २७५ मिटरमा विद्युत्का पोल हट्न बाँकी छ । विद्युत् प्राधिकरणले नयाँ पोल ल्याउन ढिलाइ गर्दा पोल हटाउने कार्य ढिला भएको उनले बताए। कोटेश्वर–कलङ्की खण्ड जस्तै चक्रपथको बाँकी खण्डमा काम गर्न पनि आर्थिक र प्राविधिक सहयोग चिनियाँ पक्षले बेहोर्ने जनाइएको छ। तर, त्यसअघि नेपाल पक्षले भने बाटोमा पर्ने संरचना, बिजुलीका पोल, रूख हटाउनुपर्ने हुन्छ। त्यसैअनुसार नेपालले लगभग साइड क्लियर गरिसकेको छ।

कोटेश्वर–कलङ्की जस्तै रफ्तारमा बन्नुपर्ने चक्रपथको बाँकी खण्डको विस्तार गर्ने चिनियाँ पक्षले तयार पार्ने डिजाइन योजनाले पर्खेको छ। डिजाइनसहित चिनियाँ पक्ष नेपाल नआउँदा योजना अघि बढ्नेमा अन्योल सिर्जना भएको हो। सडक साँघुरिएकै कारण चक्रपथका बाँकी खण्डमा सवारी साधन जाममा पर्ने अवस्था विद्यमान छ। निर्माण थालेको ३ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित विस्तार गर्न लागिएको यस खण्डमा ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान सडक विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्