प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी !



काठमाडौं। मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ ।

मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ ।

‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्करी भइरहेको छ । यो सबै प्रदेश प्रहरी, जिल्ला प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा भइरहेको छ । यसमाथि छानबिन होस् !’

बारामा भइरहेको तस्करीबारे पनि ‘हेलो सरकार’मा उजुरी छ । उजुरीमा भनिएको छ– ‘पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ । यहाँका मटिअर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट बढी तस्करी भइरहेको छ ।’

हेलो सरकारमा परेका उजुरीहरूमध्ये पर्सा र बाराका यी नाकाहरू उदाहरण मात्र हुन् । यी २ जिल्लाबाहेक अन्य जिल्लाको अवस्था पनि उस्तै छ ।

स्रोतका अनुसार मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको छ । फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी । अन्य जिल्लाभन्दा बढी पर्सा, बारा, सर्लाही, धनुषा र महोत्तरीबाट बढी तस्करी भइरहेको स्रोत बताउँछ ।

यसरी राजस्व चुहावट र तस्करी नियन्त्रणका लागि खटिएका प्रहरीहरूकै सहयोगमा तस्करी मौलाउँदै गएपछि यो चिन्ताको विषय बनेको छ । कारण– प्रहरीले तस्करीमा सहयोग गर्नु भनेको गम्भीर अपराध हो, जुन नहुनुपर्ने हो । यसले दीर्घकालीन रूपमा भयानक असर पार्ने प्रहरीका पूर्वअधिकारीहरूको धारणा छ ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार प्रहरी निकायबाट यस्ता काम सहयोग हुनु भनेको अपराधीकरण बढ्नु हो ।

उनी भन्छन्, ‘अलिकति तलमाथि हुनेबित्तिकै प्रहरी कुटिन्छ, प्रहरीको चेन अफ कमाण्ड भत्किन्छ । अर्को महत्वपूर्ण कुरा प्रहरीमा अनुशासन रहँदैन, जुन सङ्गठनको गहना हो ।’

कुन समयमा तस्करी ?

सबैको मिलोमतोमा तस्करीको लाइन खुला गरे पनि त्यसका लागि विशेष समय दिइएको स्रोत बताउँछ । स्रोतका अनुसार बढी हल्ला नहोस् भनेर त्यसलाई मध्यनजर गर्दै मध्यरातको समयलाई तस्करीको लाइन दिइएको छ ।

तस्करीमा संलग्न एक व्यपारीका अनुसार रातीको १ देखि ४ बजेसम्म मात्र तस्करी गर्न प्रहरी निकायबाट दिइएको छ । उनले भने, ‘यो समय सबै सुतिसकेका हुन्छन्, त्यही भएर यो समय दिइएको हो ।

के-के तस्करी हुन्छन् ?

देशमा अहिले राजनीतिक अस्थिरता छ । सबैको ध्यान देशको राजनीतिमा केन्द्रित छ । यही फाइदा उठाउँदै तस्कर समूहले जिल्लाको प्रहरी कार्यालयसँग ‘सेटिङ’मा तस्करी गरिरहेका छन् ।

प्रहरीको सहयोगमा भारतबाट राजस्व छलेर कपडा, हार्डवेयर, चिनी, चामलसहित भैँसीको समेत तस्करी भइरहेको छ । यताबाट भारतर्फ भने लागुऔषध, मोटर, चिनियाँ स्याउ, अफिम दानासहितका वस्तु भारततर्फ प्रहरीको संरक्षणमा गइरहेका छन् ।

कसले मिलाउँछ ‘सेटिङ’ ?

मधेस प्रदेशमा भइरहेको तस्करीको सेटिङ २ वटा माध्यमले मिलाइरहेका छन् । पहिलो माध्यम तस्कर स्वयं हो भने अर्को प्रहरीका निकायका घुमुवा प्रहरीहरू हुन् ।

‘यदि कोही तस्करले बिनासम्पर्क काम गरिरहेको छ भने त्यो पत्ता लगाएर ती घुमुवाहरू ऊकहाँ पुग्छन् अनि भन्छन्, किन नसोधी काम गरिरहेको छस् ?’, स्रोत भन्छ, ‘जबाफमा चिनजान नभएर भन्ने उत्तर आएपछि उनीहरू त्यसको पुलको काम गर्छन् । र, यहीँबाट मिल्छ अर्को सेटिङ ।’ यसको बाबजुद पनि कोही सम्पर्कमा आउँदैन भने तिनीहरूको सामान प्रहरी पक्रने गर्छ ।

अहिले एउटा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीदेखि डीआईजीसम्मका गरी १५ जनाको हाराहारीमा घुमुवा प्रहरी परिचालित छन्, जसको काम नै छ– सेटिङ मिलाउने ।

तस्करीमा ‘हाई लेभल ‘कनेक्सन’

मधेस प्रदेशमा खुलेआम तस्करी मौलाउनु भनेको राजनीतिक ‘कनेक्सन’ देखिएको छ । जिल्लामा रहेका प्रहरी प्रमुखहरूको ‘कनेक्सन’को तार सिधै प्रधानमन्त्री शेरबहादुर देउवा नजिककासँग जोडिएपछि यसरी खुलेआम तस्करी मौलाउँदै गएको हो ।

स्रोत भन्छ, ‘अहिले मधेसमा गएका अधिकांश प्रहरी प्रमुखको नेक्सस प्रधानमन्त्री देउवाका नजिकका छन्, जुन कारणले जे गरे पनि कारबाही नहुने उनीहरूको मानसिकतामा छ । मूलतः यही कारणले अहिले सबैतिर खुलेआम तस्करी भइरहेको छ ।’

प्रहरी स्रोतका किनकि ‘हाइलेबल’सँग यसरी सिधा सम्पर्क हुने भएपछि कारबाही गर्ने निकायले पनि त्यो आँट गर्न सक्दैन ।

के भन्छ प्रहरी मुख्यालय ?

मधेस प्रदेशमा भइरहेको तस्करीबारे प्रहरी मुख्यालय अनभिज्ञ छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले यसबारे प्रहरी मुख्यालयलाई केही पनि जानकारी नभएको जनाए । ‘तर पनि कुरा आइसकेपछि यसका बारेमा खोजबिन हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्