प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश ३ को विजयी सुरुवात



कञ्चनपुर : चौथो प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश–३ ले विजयी सुरुवात गरेको छ। बिहीबार भएको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो।

महेन्द्रनगरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–३ ले पूरै ओभर खेल्दै कर्णालीसामु दुई विकेटको क्षतिमा १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रदेश ३ का लागि ब्याटिङतर्फ अस्मिना कर्माचार्यले सर्वाधिक नट आउट ४७ रन बनाइन्।

त्यस्तै अस्मिता खरेल, कञ्चन श्रेष्ठले समान २८/२८ र सुमन खतिवडाले २१ रन बनाइन्। प्रदेश ३ ले ३२ रन अतिरिक्त पाएको हो। १ सय ५८ रनको लक्ष्य पाएको कर्णाली १५.३ ओभरमै ६६ रन स्कोरमा समेटियो।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा खुसी डंगोल एक्लैले मात्र नौ बलमा पाँच विकेट लिइन्। सुमन खतिवडाले तीन ओभरमा २४ रन खर्चेर दुई विकेट, अस्मिना कार्माचार्य र कृस्मा गुरुङले समान एकरएक विकेट हात पारे।

ब्याटिङतर्फ कर्णालीका लागि रबिना चौधरीले सर्वाधिक २२ र लम्मी रिमालले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन्।त्यस्तै कर्णालीका लागि सरिता जिसीले एक विकेट लिनु बाहेक अन्य खेलाडीले राम्रो बलिङ गर्न सकेनन्। कर्णालीले जारी प्रतियोगितामा दोस्रो हार व्योहोरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्