‘ग्लोबल टि-२०’ लिग खेल्दै सन्दीप र सोमपाल: सन्दिप टोरोन्टो नेशनमा, सोमपाल विनिपेग हक्समा



नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् ।  

टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ खेल्ने भएका सन्दिपलाई बिहीबार सम्पन्न ड्राफ्टमा टोरोन्टो नेशनले आफ्नो टिममा राखेको हो । पहिलो पटक विदेशी टि-२० लिग खेल्न लागेका सोमपाललाई विनिपेग हक्सले छनोट गरेको हो ।

सन्दीपलाई नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको छ । यस्तै सोमपाललाई न्युनतम ३ हजार अमेरिकी डलर राखेर विनिपेग हक्सले छनोट जनाइएको छ ।

सन्दीपको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंह समेत रहेका छन् । मोन्ट्रेल टाइगर्सबाट गतवर्ष ४० हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दिप यो वर्ष २० हजार बढी अमेरिकी डलरले अनुबन्ध भएका हुन् । उनले गत सिजनमा ५ खेल खेल्दै ८ विकेट लिएका थिए ।

प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ । सोमपाल पहिलो पटक विदेशी लिगको ड्राफ्टबाट अन्तिम टोलीमा छनोट भएका हुन् । यो खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्न सके उनका लागि यो निकै महत्वपुर्ण पाटो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्