विश्वकप विजेता टोरेसले लिए खेलाडी जीवनबाट सन्यास



काठमाडौं : सन् २०१० को विश्वकप विजेता स्पेनी फुटबल खेलाडी फर्नान्डो टोरेसले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्।

प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीका तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका पुर्व खेलाडी समेत रहेका ३५ वर्षीय टोरेसले आफ्नो १८ वर्षे करियरलाई अन्त्य गर्दै खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका हुन्। सन्यासको घोषणा गर्दै टोरेसले १८ वर्षको करियरलाई विश्राम दिने बेला आएको भन्दै ट्वीट गरेका छन्।

यसका साथै उनले आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर सम्पूर्ण विवरण बताउनेसमेत उल्लेख गरेका छन्। टोरेसले स्पेनबाट २००३ देखि २०१४ सम्म ११० खेलमा ३८ अन्तर्राष्ट्रिय गाेल गरेका थिए। टोरेस अहिले जापानीज क्लब सगान तोसुबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। २००८ को युरो कपको उपाधि स्पेनले जित्दा टोरेसले विजयी गोल गरेका थिए। स्पेनले २००८ देखि २०१२ सम्म चारवर्षको अन्तरालमा दुई युरोकप र एक विश्वकप जित्दा टोरेस महत्वपुर्ण खेलाडी रहेका थिए।

यसका साथै उनी २०१२ को युरोकपको उपाधि जित्दा पनि मुख्य खेलाडीका रुपमा हेरिएका थिए। टोरेसको करियर २००७ मा एट्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि बढी चर्चामा आएको थियो। लिभरपुलका लागि एक सय ४२ खेलमा ८१ गोल गरेका थिए।

२०११ मा खेलाडी अनुबन्धमा बेलायती क्लबको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए। तर, चेल्सीमा उनले खासै राम्रो गर्न सकेनन्। टोरेसले २०१३ मा युरोपा लिगको उपाधि दिलाउँदा बेन्फिकाविरुद्ध गोल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्