भारतको कमजोर ब्याटिङ, अफगानिस्तानलाई सामान्य लक्ष्य



काठमाडौं : इङ्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतले अफगानिस्तानसामु २ सय २५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

साउथह्याम्टनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ८  विकेटको क्षतिमा २ सय २४ रन बनायो। भारतका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए।

३१ ओभरको तेस्रो बलमा मोहम्मद नाबीले रमात शाहबाट क्याच गराउनुअघि विराटले ६३ बलमा ५ चौका प्रहार गरे।  केदार जाधव ६८ बलमा ३ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए।

त्यस्तै ओपनर के एल राहुलले ३०, विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रन बनाए।  भारतले ओपनर रोहित शर्मालाई १ रनमा गुमाएको थियो। हार्दिक पान्ड्या ७ रनमा क्याच आउट भए।

अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २–२ विकेट लिए। त्यस्तै मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १–१ विकेट हात पारे।

 

प्रतिक्रिया दिनुहोस्