वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड शीर्षस्थनमा



काठमाडौं : विश्वकप क्रिकेटको हिजो(शनिबार) सम्पन्न २९ औं खेलमा न्युजिल्यान्ड शीर्षस्थानका लागि र वेस्ट इन्डिज क्वाटरफाइनलका लागि भिडे। आफ्नो टोलीको बचाउमा निस्किएका दुवै टोलीमध्ये जित भने अपराजित न्यजिल्यान्डको हातमा पर्यो।

प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्ड ५ रनले अगाडि परेको छ। सो अग्रताले उसले गएराति सम्पन्न खेल जितेको हो।टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २९१ रन बनाएको थियो। पहिलो दुई विकेट सात रनको अवस्थामा गुमाएको न्यूजिल्याण्डका लागि केन विलियमसन र रोश टेलरले उत्कृष्ट प्रदर्शन गरे।

तेस्रो विकेटका लागि उनीहरुले १६० रनको साझेदारी गरेपछि न्यूजिल्याण्ड सम्मानजनक स्कोरमा पुगेको हो। विलियमसनले १४८ रनको योगदान दिए। त्यस्तै टेलरले ६९ रन बनाए। बलिङतर्फ शेलडन कोट्रेल एक्लेले चार विकेट लिए भने कार्लोस ब्राथह्वाइटले दुई विकेट हात पारे।

२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा २८६ रनमा अलआउट भयो। उसका लागि कार्लोस ब्राथह्वाइटले १०१ रनको शतकीय योगदान दिए। उनले ८२ बलमा नौ छक्का र पाँच चौका प्रहार गरेका थिए।

यस्तै क्रिश गेलले ८७ रन बनाएका थिए भने सिमरन हेटमेयरले ५४ रन जोडे। अन्य खेलाडीको ब्याटिङ चल्न सकेन। वेष्ट इण्डिजलाई हराउनका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए भने लकी फर्गुसनले तीन विकेट लिए।

जितसँगै न्यूजिल्याण्ड ६ खेलबाट ११ अंक सहित शीर्ष स्थानमा फर्किएको छ।

प्रतिक्रिया दिनुहोस्