६ वर्षमा डिजेल प्रतिलिटर ५९ रुपैयाँले वृद्धि



काठमाडौं । पछिल्लो ६ वर्षमा प्रतिलिटर डिजेल ५९ रुपैयाँ वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/०७४ को डिजेलको मूल्य र अहिलेको मूल्यसँग तुलनामा गर्दा प्रतिलिटर ९५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल आयल निगमको तथ्याङ्कअनुसार २०७३/०७४ मा प्रतिलिटर डिजेल ७४ रुपैयाँ थियो भने अहिले चालु आर्थिक वर्षको १९ फागुनमा सो मूल्यमा वृद्धि भई १३३ रुपैयाँ पुगेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको निगमको भनाइ छ। यसैगरी पछिल्लो ६ वर्षमा प्रतिलिटर पेट्रोलको मूल्य ५२ रुपैयाँले वृद्धि भएको छ। निगमको तथ्याङ्कअनुसार २०७३/०७४ मा पेट्रोलको प्रतिलिटर ९८ रुपैयाँ रहेको थियो भने अहिले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। २०७३/०७४ र हालको मूल्यसँग तुलनामा गर्दा ६ वर्षमा प्रतिलिटर पेट्रोल ५२ रुपैयाँले वृद्धि भएको हो ।

यसैगरी खाना पकाउने एलपी ग्यासमा ६ वर्षमा प्रतिसिलिन्डर २२५ रुपैयाँ वृद्धि भएको छ। २०७३/०७४ मा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ३०० थियो। बुधबार नेपाल आयल निगमले समायोजन गरेको पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मको नेपालको इतिहासमा सबैभन्दा धेरै हो । पछिल्लो समय रुस–युक्रेनको बीचको युद्धले कच्चा तेलको मूल्य वृद्धि हुँदा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्