कतारका प्रशिक्षकले भने, ‘हामी मेस्सीसँग सेल्फी खिच्न आएका होइनौं’



काठमाडौं : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल २०१९ मा अर्जेन्टिनाविरुद्धको खेलअघि कतारका प्रशिक्षकले भनेको एउटा कुरा अहिले चर्चामा छ। कतारका प्रशिक्षक फेलिक्स सान्चेजले अर्जेन्टिनी टोलीलाई चेतावनी दिएका छन्।

सान्चेजले आफ्नो टोली कोपा अमेरिकामा स्टार फुटबलर मेस्सीसँग मात्र फोटो खिच्न नआएको बताएका हुन्। खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक सान्चेजले मेस्सी विश्वस्तरीय खेलाडी भए पनि कतार उनको सामना गर्न तयार रहेको बताए।

‘हामी दक्षिण अमेरिकामा प्रख्यात टोली हैनौं। हामीसँग स्तरीय खेलाडी छन् र हामी प्रतिस्पर्धा गर्न आएका हौं, मेस्सीसँग सेल्फी खिच्न होइन,’ उनले थपे, ‘अर्जेन्टिना बलियो टोली हो तर उपाधि दावेदार पनि। हामी विश्वको उत्कृष्ट खेलाडी भएको टोलीसँग कडा प्रतिस्पर्धा गर्नेछौं।’ सान्चेजले कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेकोले खेलमा थप हौसला बढेको बताए।

‘हामीसँग पनि छनोट हुने बलियो सम्भावना छ। यसले टोलीलाई निकै हौसला दिएको छ। अझ हामीले अर्जेन्टिनाको यात्रा टुंग्याउने सम्भावना समेत छ,’ उनले भने। एसियाली च्याम्पियन कतारले कोपा अमेरिकामा आमन्त्रित टोलीका रुपमा सहभगिता जनाएको छ।

पहिलो खेलमा पाराग्वेसँग २–२ को बराबरी खेलेको कतारले दोस्रो खेलमा कोलोम्बियासँग १–० को पराजय बेहोर्यो। २ खेलमा १ अंक जोडेको कतार समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ। कतारले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्दैछ। उक्त खेलमा जित दर्ता गरेमा कतारको क्वाटरफाइनलमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ।

अर्जेन्टिनाले प्रतियोगिताको पहिलो खेलमा कोलोम्बियासँग २–० को हार बेहोरेको थियो। त्यसपछि दोस्रो खेलमा पाराग्वेसँग १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक तालिकाको पुछारमा रहेको छ। यस खेलमा जित दर्ता गर्न नसके अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्