भारतीय कप्तान कोहली आईसीसीको कारबाहीमा



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ। इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उल्लंघन गरेपछि कोहली कारबाहीमा परेका हुन्।

आचरसंहिता विपरीत एलबीडब्लू आउटको अपिल गर्नुको साथै अम्पायरमाथि आक्रमक देखिएको भन्दै कोहलीलाई आईसीसीले कारवाही गरेको हो। २९ ओभरमा कोहलीले अम्पाएर अलिम दर सामुनिकै आक्रोशित हुँदै एलबिडब्लुको अपील गरेका थिए। खेलपछि म्याच रेफ्री क्रिस बोर्ड र अम्पाएर प्यानलले स्वीकृत गरेको कारबाही कोहलीले स्वीकार गरेका थिए।

कारवाहीबापत कोहलीको उक्त खेलको २५ प्रतिशत पारिश्रमिक रकम काट्ने छ। साथै १ डिमिरेट अंक पनि दिएको छ। कोहलीले उक्त कारवाही स्वीकारेका छन्। यो खेलमा अफगानिस्तानलाई भारतले ११ रनले पराजित गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्