ललित स्मृति यू–१८ फुटबल : पुलिसको जितमा सन्जु नायक



काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै पुलिसले महत्वपूर्ण ३ अंक बटुल्यो।  

पुलिसको जितमा सन्जु सेनले दुवै गोल गरे। जावलाखेलका लागि कप्तान साचु गुरुङले एक गोल फर्काए। खेलको १६ औं मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३० औं मिनेटमा साचुले गोल गर्दै खेल बराबरीमा ल्याए। ९० औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस २–१ ले विजयी भयो।

जितसंगै समूह ‘सी’ बाट पुलिसले ३ अंक जोडेको छ। जावलाखेलले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ। समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ।

प्रतिक्रिया दिनुहोस्